
📝 निर्कु धन राई
पारिबुङ भन्नाले बिभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा/कागजको झण्डा वा तोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुला आकाश), ‘बुङ’ भनेको फूल (बुङ = फुल) अर्थात सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमा झुण्डाईएको फुल भन्ने अर्थ लाग्दछ । त्यसै गरि देवा (मुन्दुमी पुजारी) वा नोक्छो (धामी) हरुले धार्मिक/सास्कृतिक अनुष्ठानको अवसरमा शिरमा सिरीपेचको रुपमा लगाउने सास्कृतिक पहिरनलाई पनि थुलुङ राई भाषामा पारिबुङ नै भन्ने गरिन्छ । सबै भाषिक राई समुदायका देवा र नोक्छोले शिरमा पारिबुङ लगाएर सास्कृतिक अनुष्ठानका गर्दछन यसर्थ पारिबुङ किरात संस्कार संस्कृतिका अभिन्न अंगको हो । पारिबुङ बिनाको किरात संस्कार सस्कृति अधुरो अपुरो रहन्छ । यति धेरै महत्व बोकेको पारिबुङको विषयमा यस लेख भन्दा अगाडी कुनै अध्ययन अनुसन्धान भएको पाईन्दैन । त्यसै कारण पारिबुङको इतिहास, यसको सास्कृतिक अभ्यासलाई अध्ययन गर्ने उदेश्यकासाथ किरात थुलुङ राईहरुको सघन बस्ती रहेका सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका अन्तर्गतका गाउँहरु लोखिम, मुलिदेल, पन्चन र खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिकाका रिब्जुङ गाउँलाई अध्ययन क्षेत्र छनौट गरेर किरात राई समुदायले प्रयोग गर्दै आएका सास्कृतिक बिम्बहरुका इतिहास र सामाजिक मान्यता बारे अध्ययन भयो । अध्यनको क्रममा देवा, नोक्छो तथा किरात राई समुदायका अग्रज व्यक्तित्वहरलाई स्रोतको रुपमा लिइएको छ । यसै गरि हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ का सामाजिक अभियन्ता तिलक चामलिङ राईसंग पटक पटक पारिबुङको इतिहास, यसको महत्वबारे छलफल भयो । अध्ययनको क्रममा ज्ञानको स्रोतको रुपमा छनौट गरिएका व्याक्तित्वहरु किरात मुन्दुम र सभ्यताका ज्ञाता भएकाले पारिबुङको विषयमा गरिएको स्थलगत अन्तरवार्ताबाट प्राप्त सबै जनाकारीहरु विश्वास योग्य छन । सामुहिक छलफल र स्थललगत अन्तरवार्ता नै यस लेखको अध्ययन विधि हो । यसको अतिरिक्त विभिन्न देशका राष्ट्रिय झण्डा, धार्मिक तथा संघ सस्थाहरुको झण्डाको इतिहास र तिनका अर्थ पनि यस लेखको अध्ययन विधिमा समावेश गरिएको छ ।
शब्दकुञ्जी
लिङह्वाल, सिमुलाम राप्मा, षष्ठी तत्व, कुयासाम्बा, द्युप्च्यु खान्मु, द्युप्च्यु होल्मु, वायलुङमा
विषय परिचयः
मनोकामना पुरा हुने विश्वासकासाथ विभिन्न सास्कृतिक कार्यक्रमहरु, वनभोज, गाउँको पवित्र र उच्च स्थानहरुमा पारिबुङलाई टाँगिने छ । पारिबुङमा ३ किसिमका रंगहरुमा ६ वटा किरात सास्कृतिक बिम्बहरु प्रयोग हुनेछन । ३ किसिमका रंगहरु उभौली, उद्यौली, शान्ति र सह अस्तित्वको प्रतिक हुन । र ६ वटा सास्कृतिक बिम्बहरु किरात सभ्यता, संस्कार सस्कृतिका चिन्ह हुन । बुद्धिष्ट दर्शन अनुसार जिवन र वनस्पतिको पहिलो आधार पञ्च तत्व हो (Sharma, 2024) भन्ने अकाट्य सत्यलाई आत्मासाथ गर्दै किरात दर्शनमा थप तत्वको मान्यता रहेको छ जुन पितृतत्व हो । यसर्थ किरात दर्शन अनुसार जीव र वनस्पतिले यस जगतमा अस्तित्व पाउनको लागि षष्ठी तत्व अपरिहार्यता छ । किरात दर्शनमा पञ्चतत्वहलाई प्रकृतिको रुपमा पुजिन्छ र पितृतत्वलाई तोसी/साकेला (उभौली, उद्यौली) को अवसरमा पुर्खाहरुको मृतात्मालाई सम्मान पुर्वक मुन्दुमी लयमा सम्बोधन गर्दैआशिर्वाद मागेर पुजिन्छ । (मुकारुङ राई,२०८०) । किरात दर्शनानुसार कुनै पनि जीव र वनस्पतिकोअस्तित्व षष्ठी तत्वको संयोग हो । यिनै षष्ठी तत्वलाई प्रकृति र पितृ पुजाको नामले चिनिन्छ ।
पारिबुङलाई प्रयोग गर्नु भनेको प्रकृति र पितृको सम्मान गर्नु हो । पारिबुङमा प्रयोग भएका रंग र बिम्बहरु षष्ठी तत्वको प्रतिक हुन । पञ्चतत्वको बारेमा धेरै लेखहरु लेखिए पनि षष्ठी तत्व व्यबहार र बोलिचालिमा मात्र सिमित छ
अध्ययन विधि
किरात थुुलुङ राई समुदायको सघन बस्ती रहेको भूगोलको छनौट गरेर मुन्दुममा आधारित सास्कृतिक विम्बहरुको नामवली संकलन गरि ती बिम्बहरुको सास्कृतिक इतिहास र महत्वको विषयमा मुन्दुमी अग्रज व्यक्तित्वहरुसित अन्तरवार्ता तथा व्यापक अन्तरकृयात्मक छलफल गरिएको छ । यसको अतिरित्त धार्मिक समुदायको झण्डा, विभिन्न देशका सरकारी तथा गैर सरकारी झण्डाहरु अध्ययनको स्रोत मानिएको छ । पारिबुङको विषयमा अध्ययन अनुसन्धान गर्ने सिलसिलामा पारिबुङको पर्यायवाची शब्दको रुपमा झण्डा, ध्वज, लुङता, दार्चोग, तोरण, निशान जस्ता धेरै शब्दहरु पाईएको हुनाले ती शब्दहरुका उत्पति, इतिहास र मान्यतालाई पनि अध्ययनको स्रोत मानिएको छ । झण्डाहरुको विषयमाअध्ययन गर्ने अवसरमा त्यसमा प्रयोग भएका बिम्बहरु, आकार प्रकार र रंगहरुको खोजमुलक अध्ययन विधि प्रयोग गरिएको छ ।
सैद्धान्तिक आधार
पारिबुङ वा झण्डाको प्रयोग ईशापूर्व ११ शताब्दी अर्थात आज भन्दा करिब ३१ सय वर्ष अगाडी देखि नै चाईनिजहरुले आ–आफ्नो समूहलाई चिनाउने माध्यमको रुपमा प्रयोग गर्न थालेका थिए । त्यस पछि पारिबुङको प्रयोग गर्ने संस्कृति इजिप्ट र रोम हुँदै युरोपसम्म फैलिएको थियो । उ बेला पारिबुङको प्रयोग आ–आफ्नो फरक सभ्यता, संस्कृति र समूहको चिनारीको रुपमा विस्तार भएको पाईन्छ ।
मध्यकालको शुरुसम्म आईपुग्दा झण्डा संस्कृति मध्यपूर्व हुँदै दक्षिण एशियाको गंगाको मैदानसम्मा आईपुग्यो । यसरी पारिबुङ प्रयोगको संस्कृति पैmलिने क्रमसैगै भूगोल, सभ्यताको आधारमा विभिन्न रंग, आकार प्रकारको पारिबुङ (झण्डा) बन्न थाल्यो । बर्तमान समयमा पारिबुङलाई देशको सार्वभौम सत्ता, इतिहास र पहिचानको प्रतिकको रुपमा व्याख्या विश्लेषण गरेको पाईन्छ । यसै गरि धार्मिक समुदाय, राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकायहरु, व्यापारिक प्रतिष्ठानहरुले पारिबुङलाई आ–आफ्नो इतिहास, प्रतिष्ठाको रुपमा प्रयोग गर्दै आईरहेको विश्व व्यापी वास्तविकतलाई अध्ययन गर्दा किराती समुदायको पनि आफ्नै पहिचान बोकेको पारिबुङ प्रयोग गर्नुलाई सान्दर्भिक ठानिएको छ । जीव र वनस्पतिहरुको अस्तित्व पञ्चतत्वमा आधारित छ भन्ने विश्व मान्यता रहेको बर्तमान परिप्रेक्षमा जीव र वनस्पतिको अस्तित्वको लागि षष्ठी तत्व अपरिहार्य छ भन्ने फरक दृष्ट्रिकोण बोकेको किरात दर्शनमा आधारित पारिबुङको अध्ययन सान्दर्भिक भएकोले यस लेखको सैद्धान्तिक आधार अत्यन्त बलिलो रहेको छ ।
पारिबुङको रंग, अर्थ, संरचना र प्रयोग विधि
पारिबुङको रंग, सास्कृतिक बिम्बहरुको मुन्दुमी सम्बन्ध पारिबुङमा पहेंलो, हरियो र सेतो रंगहरु प्रयोग भएका छन । ती ३ वटा रंगहरु मध्ये पहेंलो रंगको अर्थ उधौली र प्रकृति पुजक, हरियो रंगको अर्थ उभौली र पितृ पुजक, सेतो रंगको अर्थ शान्ति सह अस्तित्व हो । किरात दर्शन अनुसार सम्पूर्ण जिव एवं वनस्पतिको आधार प्रकृति र पितृ हुन । ऋतु परिवर्तन संगै किरात राईहरु प्रकृति र पितृ पुज्ने गर्दछन । प्रकृति र पितृ पुज्ने विधिलाई तोसी, साकेला, वास, चासोक तङनाम, साकेन्वा, चासुवा, फोलस्याँदर, साखेवा आदी नामले पुकारिन्छ । किरात राई समुदायमा प्रकृति र पितृ पुजा धेरै पटक भएपनि वर्षमास शुरु हुन अगाडी र वर्षमास पश्चात गरिने तोसीलाई विशेष मानिन्छ । बोलचालको भाषामा यस तोसीलाई उभौली/उद्यौली भनिन्छ । उभौली तोसी वैशाष पूर्णिमाको दिन शुरु हुन्छ । सामान्यतय यी दुवै तोसी २ दिने हुन्छ तर क्षेत्र र भाषिक समुदाय अनुसार ५ दिन देखि १ महिनासम्म मान्ने प्रचलन छ । उभौली तोसीको अवसरमा मुन्दुमी पद्यात्मक लयमा प्रकृति र पितृबाट यसरी आशिर्वाद मागिन्छ ।
बेंसीबाट ङारकुवा (करयाङकुरुङ) लेक तर्फ उडेछ ।
अब गर्मी शुरु भएछ, खेतीपाती गर्ने समय भएछ ।।
आजबाट बुङतोसीसम्म खारीबुरी (खेतीपाती) मा समर्पित हुनेछौ ।
हे प्रकृति र पितृ ! आशिर्वाद देउ हामी प्रार्थना गर्नेछौ ।।
(खोलोमे पञ्मान राईले थुलुङ भाषामा भन्नु भएको भावको नेपालीमा रुपन्तरण)
उल्लेखित वाक्यांशहरु अति मिठो लयात्मक भाकामा फलाकेर असोज महिनामा गरिने बुङ तोसीसम्मको लागि खेतीपातीमा समर्पित हुने वाचा प्रकृति र पितृसंग गरिन्छ । हे प्रकृती ! हे पितृ ! बुङ तोसीसम्म कुनै शुभ कार्य गर्ने छैनौ, रुख विरुवा काट्ने छैनौ, रुख विरुवालाई बढ्न दिनेछौ, शिकार गर्ने छैनौ, बुङतोसीसम्मको समय चराचरुङ्गी, जलचर, उभयचर, थलचर सबैको सन्तानोत्पादन गर्ने सयम भएकोले हामी मानव समुदायले कुनै बाधा व्यवधान गर्दैनौ बरु शान्त वातवरणको लागि सहयोगी बन्नेछौ । हे प्रकृती ! हे पितृ ! मलिलो पानी पारिदिनु, बाढी पहिरोबाट हामीलाई जोगाईदिनु, हुरी बतास हटाईदिनु भनि प्रार्थना गरिन्छ । उभौली तोसीको अवसरमा यसरी गरिएको बाचालाई द्युप्च्यु खान्मु भनिन्छ । पारिबुङमा प्रयोग भएको हरियो रंग उभौली र पितृ पुजकको प्रतिक हो । उभौलीको तोसीमा गरिएको बाचा असोज महिनाको बुङ तोसी (फुल तोसी) मा खुला गरिन्छ। यस अवसरमा, मुन्दुमी पद्यात्मक मिठो लयमा प्रकृति र पितृलाई धेरै धेरै धन्यवाद दिदै उभौलीमा गरिएको सबै बाचाहरु फुकाईन्छ । खेतीपाती गर्न उपयुक्त वातवरण मिलाई दिएकोमा प्रकृति र पितृ प्रति आभार व्यक्त गर्दै यी बालीनालीमा खेलीरहेको पूलबाट भरिलो, पोटिलो अन्न फलाई दिनु भनि प्रार्थन गरिन्छ । बुङ तोसीको दिन सम्पूर्ण शुभ कार्यहरु फुकुवा हुन्छ अनि पुजाआजा, विवाह गर्ने बाटो खुल्छ । अल्लोको धागो कात्ने काम पनि शुरु गर्न सकिन्छ । यसरी उभौलीमा प्रकृती र पितृसंग गरिएको सबै बाचा फुकाउने तोसीलाई द्युप्च्यु होल्मु भनिन्छ । बुङ तोसीको समयमा वर्षामासमा लगाएकोबालीनाली (कोदो, धान, गेडागुडी) सबैका फुल फुल्ने याम भएको कारण द्युप्च्यु होल्मु तोसीलाई बुङ (फुल) तोसी भनिएको हो । कुनै पनि तोसीको दोस्रो दिन योव् बार्ने चलन छ । योव् भन्नाले जमिनलाई आराम दिने दिन हो । योव्को दिन बारीमा खनजोत गर्ने कार्यलाई पूर्णरुपमा बन्द गरिन्छ । यदि कसैले खनजोत गरिहाले अशुभ मानिन्छ । बुङ तोसीमा मुन्दुमी विधिद्वारा पाकेको नयाँ मकै प्रकृति र पितृलाई अर्पण गरे पश्चात सबैले खाने प्ररम्परा छ । विशेष गरेर घरको जेठो पाकोले प्रकृति र पितृलाई नयाँ अन्नबाली नचढाई आफुले नखाने चलन अझै छँदैछ । बुङ तोसीको अवसरमा मुन्दुमी पद्यात्मक लयमा प्रकृति पितृलाई सम्बोधन गर्ने केही वाक्यांशहरु यस प्रकार रहेको छ।
लेकबाट ङारकुवा (करयाङकुरुङ) बेंसी तर्फ उड्यो हिक्लेम जु ( हुस्सु) हट्यो, रातमा सरकु (शीत) नी झर्यो । मौसम नी राम्रो दियौ , बालीनालीमा फुल नि कति राम्रो ।हे प्रकृति र पितृ ! पोटिलो अन्न फलाई देउ बिन्ति हाम्रो । खोलोमे पञ्मान राईले थुलुङ भाषामा भन्नु भएको भावको नेपालीमा रुपन्तरण) बुङ तोसी पश्चात मंसिरे पुर्णिमामा उद्यौली तोसी हुन्छ । यस बेलासम्म वर्षमासमा लगाएको सबै बालीनाली घरमा थन्काई सकेको हुन्छ । उद्यौली तोसीको अवसरमा यिनै नयाँ अन्न प्रकृति र पितृलाई अर्पण गरेर पछि खानाको लागि खुला हुन्छ । किरात राई समुदायमा नागी पूजा मार्फत पनि नयाँ अन्न खानालाई खुल्ला गरिन्छ । यी दुवै पूजाको अवसरमा अन्नबाली फलाएर मानवीय जिवन रक्षा गरेकोमा प्रकृति र पितृलाई धन्यवाद दिदै भण्डारण गरेको अन्नको सह पनि बढाई दिनु भनि अत्यन्त मिठास मुन्दुमी लयमा कुरुवा (मुन्दुमी लयात्मक गीत) गाईन्छ । पारिबुङमा प्रयोग भएको पहेँलो रंग उधौली र प्रकृति पुजकको प्रतिक हो ।किरात दर्शनले मनवीय झगडालाई ख्लाम्या (पाप) मानेको छ । झगडाको कारण शरीरबाट रगत बगेमा मुन्दुमी विधिबाट पाप पखाल्न जान्ने धामीद्वारा तीन पटक ठूलो चिन्ता (मुन्दुमी धामी
विधि) राखेर पापलाई पखाल्ने परम्परा छ । यदि पाप नपखाले परिवारमा कुयासाम्बा (पापको जरो) पलाएर दरसन्तान पिराउने, रोगी, लुलो लङगडो जन्मिने अर्थात झगडा गर्ने दुवै तर्फको परिवारमा अभिशाप हुने मान्यता छ । झनै झगडाको कारण कुनै मानिसको मृत्यु भएमा दुवै तर्फ (मर्ने र मारिनेपरिवार) का दर सन्तान अपुताल हुने, दुवै तर्फको परिवारमा स्युस्यरी बाबारी (अर्धचेत हुने, मर्न र मार्न मन लाग्ने) को बिज उत्पति हुने भएकोले त्यस्ता परिवारहरुसित नयाँ नाता सम्बन्ध जोड्नु हुन्न भनि मुन्दुमले किटानी गरेको छ तसर्थ पारिबुङमा प्रयोग भएको सेतो रंग शान्तिको प्रतिक हो । (नोक्छो सन्त सिर राई) किरात दर्शन अनुसार बिरानो गाउँबाट मुल र कुल मिल्नेहरु नाता जोड्न आएमा उनिहरुलाई आफ्नो द्युम्च्युनङ (मुन्दुमी नाम) बाट शाखा छुट्टाएर नयाँ मुन्दुमी नाम दिने परम्परा छ । कुल र मुल नमिलेका अपरिचत व्यक्ति वा परिवार गाउँको शरणमा आएमा जल, जमिन र जंगल उपयोग गर्न दिनु समुदायको कर्तव्य मानिएको छ यसर्थ शान्ति र सह अस्तित्व किरात मुन्दुमको मुल आधार हो । पारिबुङमा प्रयोग भएको सेतो रंग शान्ति र सह अस्तित्वको प्रतिक हो ।
पारिबुङमा प्रयोग भएका बिम्बहरुको क्रम, आकार, अर्थ र प्रयोग विधि

पारिबुङ बनाउदा माथी चित्रमा देखाईए अनुसारको रंग र बिम्बहरुको क्रम मिलाएर राख्नु पर्दछ । उल्लेखित क्रममा राख्दा किरात सभ्यताको विकास र मान्यतालाई प्रास्ट पार्दछ । किरात राई मिथक अनुसार खोम्दा (शुक्र तारा/आकाश) र मियाप्मा (धर्ती) को समागमबाट समुन्द्रमा जिवको उत्पति भयो । सोही जिव विकास हुँदै गएर चेत र चैतन्यले भरिपूर्ण युम्च्यो (प्राकृति शक्ति प्राप्त) मानव, हातमा लिङह्वल (धनुकाँड) र शिरमा सेवारीकासाथ जन्मियो । यहि मिथकलाई नै मानव विकासको पहिलो आधार मानेर पहेँलो पृष्ठभूमिमा सेतो धनुकाँडको बिम्बलाई पारिबुङको शुरुको क्रममा राखिएको छ । मानव शास्त्रीय अध्ययन अनुसार लगभग ११ हजार वर्ष पहिले मानिसहरु स्थायीरुपमा बसोबास गरि खेतीपाति गर्ने युगमा प्रवेश गरेका थिए । किरात राई मुन्दुम अनुसार खेतीपातिको शुरुआत गर्नेहाम्रा आदिम पुखाहरु ख्वाक्चिलिप (रैछाकुले, हेत्छाकुप्पा) र वायलुङमा थिए । उनै पुर्खाहरुले तीन चुलाको प्रतिस्थापन गरि आगो बालेर शिकार गरेको मासु पोले खाने, तीन चुलामाथी माटाका भाँडा तथा चेप्टो ढुँगा राखेर खानेकुरा पकाएर खाना सिके । त्यस पछि तीन चुलालाई पितृको बासस्थानको रुपमा पुज्न थाले । हाम्रा आदिम पुर्खाहरुले गरेको तीन चुलाको विकास किरात सभ्यताको अर्को ठूलो उपलब्धीको हो भन्ने ठहरकासाथ हरियो पृष्ठभूमिमा सेतो तीनचुलाको बिम्ब पारिबुङको दोस्रो क्रममा राखिएको छ ।
यसरी हाम्रा आदिम पुर्खाहरु स्थाईरुपमा बसोबास गरेर किरात सभ्यताको विकास गर्ने क्रममा पानी पिउने उपयुक्त भाँडोको रुपमा चिन्डोलाई पाए । त्यसपछि ती आदिम पुर्खाहरु आफुले प्रयोग गरेको भाँडोलाई नै प्रकृति र पितृलाई पानी अर्पन गर्ने मुन्दुमी सामग्रीको रुपमा प्रयोग गर्न थाले । चिन्डो बिनाको किरात राई सस्कार सस्कृति अपुरो हुने मान्यतालाई आधार बनाएर पहेँलो पृष्ठभूमिमा सेतो रंगको चिन्डोलाई पारिबुङको तेस्रो क्रममा राखिएको छ । हाम्रा आदिम पुर्खाहरु शिकारी युगबाट बिस्तारै व्यबस्थित समाजमा रुपान्तरित हुँदै गए पनि जन्म र मृत्यु उनिहरुको जिवनको चक्र थियो । मुन्दुम अनुसार उनिहरुले जन्मलाई सहजरुपमा स्वीकार गरे पनि मृत्युलाई अस्वभाविक मान्दथे तसर्थ यस किसिमको दुखद घट्नालाई टार्न विभिन्न प्राकृतिक शक्तिलाई गुहार माग्ने क्रममा मृत्युको बाटो छेक्ने सास्कृतिक बिम्ब, सिमुलाम राप्मा (सिलाम साक्मा) को विकास गरे । हरियो पृष्ठभूमिमा सेतो सिमुलाम राप्माको बिम्बलाई पारिबुङको चौथो क्रममा राखिएको छ ।
मिथक अनुसार मानव समुदायले धातु पत्ता लगाउनु अगाडी जंगली राँगो (अर्ना) को सिङलाई प्रकृति र पितृको सम्मान बजाउदथे । यहि अर्नाको सिङ बजाएर समुदायमा विशेष सुचना पनि प्रवाह गर्दथे । अर्नाको सिङलाई सास्कृतिक बाजाको रुपमा द्यौली उभौली तोसीमा बजाउने परम्परा विद्यामान छ । तर मानव समुदायले धातु पत्ता लगाए पश्चात हाम्रा पुर्खाहरुले अन्य आधुनिक बाजाहरु जस्तै ढोल, सुलिम, झ्याम्टाहरुको विकास गर्न सके । ती बाजाहरु तोसीको अवसरमा प्रकृति र पितृको सम्मानमा बजाउने चलन छँदैछ। पुर्खाहरुले विकास गरेका ढोल र झ्याम्टाको बिम्बहरु पहेँलो र हरियो पृष्ठभूमिमा पारिबुङको पाँचौ र छैटौ क्रममा राखिएको छ । पारिबुङ प्रयोग गर्ने स्थान र वातवरण अनुसार फरक फरक साईजमा बनाउन सकिन्छ तर माथी उल्लेख गरिए झै पारिबुङको रंग र क्रम मिलाएर यसलाई वर्गाकार बनाउनु पर्दछ । किरात मुन्दुम अनुसार तीन चुला राख्ने स्थानलाई पवित्र मानिन्छ र तीन चुला राख्ने स्थान वर्गाकार हुन्छतसर्थ पारिबुङलाई पवित्र बनाउन तीन चुलाको आकारमा बनाउनु पर्दछ ।
आफुले आयोजना गरेको कार्यक्रम सुरक्षित एवं भव्यरुपमा सफल होस भन्ने मनोकामनाकासाथ कार्यक्रम स्थलमा पारिबुङ टाँग्ने चलन विगत केहि वर्ष देखि शुरु भएको छ । सयौ वर्ष देखि विभिन्न देश, धार्मिक सम्प्रदाय, संघ सस्था वा समुदायहरुले आ –आफ्नै चिनारीको लागि विभिन्न किसिमको पारिबुङ (झण्डा, ध्वज वा लुङता ) को प्रयोग गरिरहेको परिप्रेक्षमा किरात समुदायले पनि आफ्नो पहिचान संरक्षणको लागि पारिबुङलाई तोसिखोम (साकेलाथान) शुभ कार्यहरु, पाटी, पौवा, भञ्ज्याङ, घरको ढोकामाथी, मोटसाईकलको अगाडी दुवैतर्फको ऐना, देउरालीमा पारिबुङलाई टाँग्ने चलन शुरु भएको हो । यसो गरिएमा जिवन र जगतमा सकरात्मक उर्जा प्रवाह हुनेछ । पारिबुङलाई पूर्ण सेटमा प्रयोग गर्दा फलदायी हुनेछ । उदारणको रुपमा माथी राखिएको ३ वटा रंगमा ६ वटा सास्कृति बिम्ब भएको पारिबुङको एक पूर्ण सेट हुन्छ तसर्थ ६, १२, १८, २४, ३०, ३६ पिसको नम्बरलाई पूर्ण सेट भनिएको हो ।
पारिबुङलाई प्रयोग गर्दा जसरी विभिन्न धार्मिक समुदायका झण्डाहरु, विश्वका सार्वभौम राष्ट्रका राष्ट्रिय झण्डाहरु तथा विभिन्न संघ संस्थाका झण्डाहरुलाई पवित्र मानिन्छ, त्यस्तै गरि किरात दर्शनमा आधारित पारिबुङलाई पनि पवित्र मानिन्छ । तसर्थ परिबुङलाई होशियारी पुर्वक टाँग्ने वा उठाउने कार्य गर्नु पर्दछ । पारिबुङलाई खुट्टाले टेक्ने, नाघ्ने गर्नु हुन्न । प्रयोग पश्चात पारिबुङलाई फोहर वा माटोमा फ्याँक्दा जुन उदेश्यले प्रयोग गरेका थियौ, त्यो उदेश्य पुरा हुँदैन भन्ने मान्यता विकास गरिएको छ । यसर्थ पारिबुङको महत्वलाई बुझेर यसको प्रयोग गरिएमा फलदायी हुनेछ ।
छलफल
सार्वभौमसत्ता सम्पन्न देश, धार्मिक समुदाय, संघ संस्थाहरुको आ–आफ्नै पहिचान सहित पारिबुङ/झण्डा छन । सन १९४६ मा Donal Mc Lauphlin ले संयुक्त राष्ट्र संघको झण्डा डिजाईन गरेका थिए । संयुक्त राष्ट्र संघको झण्डाले विश्वमा एकता र शान्तिको सन्देश प्रभाव गरिरहेको छ । जर्मनीको अत्यन्त चर्चित राजनीतिज्ञ Adolf Hitler ले सन १९२० मा रातो पृष्टभूमिको बिच भागमा सेतो गोलाकार माथी कालो रंगको स्वास्तिका चिन्ह भएको राजनीतिक दल नाजीको पारिबुङ बनाएका थिए । Adolf Hitler ले यस किसिमको विशेष झण्डा बनाए पछि राष्ट्रियता, जातिवाद एकताको अभियान चलाउन सफल भएको मानिन्छ । पारिबुङ प्रयोगबाट कति धेरै शक्ति आर्जन हुन्छ ? भन्ने विषय त दोस्रो विश्व युद्धको इतिहासबाट थाहा पाउन सकिन्छ ।विश्वमा प्रतिपादित राजनीतिक दर्शन, व्यापारिक प्रतिष्ठानको आ–आफ्नै किसिमको पारिबुङ बनाएर उनिहरुको अस्तित्व, इतिहास र पहिचानलाई गर्वकासाथ बचाईरहेका छन । महायान बुद्धिष्ट समुदायले पाँच रङको पारिबुङ प्रयोग गरेका गर्दछन । उल्लेखित ५ रंगमध्ये पहेंलो रंगको अर्थ भूमि, हरियो रंगको अर्थ पानी, रातो रंगको अर्थ आगो, सेतो रंगको अर्थ वायु र निलो रंगको अर्थ खुला आकाश हुन्छ अर्थात उल्लेखित पाँच रंग पञ्चतत्वका प्रतिक हुन । हिन्दु र बुद्धिष्ट दर्शन अनुसार पञ्चतत्व प्राणी र वनस्पति जगतको आधार हो तर किरात दर्शन अनुसार जीव र वनस्पतिको अस्तिवको लागि षष्ठी तत्व अपरिहार्य रहन्छ । पारिबुङ षष्ठी तत्वको प्रतिक पनि हो । किरात दर्शनले पञ्चतत्वलाई प्रकृतिको रुपमा र थप तत्वलाई पितृको रुपमा पुज्ने गर्दछन ।
ईशाई धर्मका प्रवर्तक यशु ख्रिष्टको सम्मानमा ईशाई धर्मलम्बीहरुले क्रस चिन्ह भएको झण्डा गर्वकासाथ प्रयोग गर्दछन । क्रस चिन्ह भएको झण्डाबाट यशु ख्रीष्टमाथी यहुदीहरु कति निर्मम थिए भन्ने विषयको अनुमान लगाउन सक्दछौ । हिन्दु धर्मलम्वीहरुले त्रिकोणात्मक पारिबुङ (झण्डा) बनाई त्रिदेव, त्रिकाल, त्रिलोकको प्रतिकको रुपमा प्रयोग गर्दछन । पारिबुङ मार्फत नै राजनीतिक दलहरुको दर्शन र सिद्धान्त के हो ? भन्ने अनुमान लगाउन सकिन्छ ।
त्यसै गरि पारिबुङ कै आधारमा विश्वका देशहरुले कुन राजनीतिक व्यबस्था अंगिकार गरेका छन भनि अन्दाज गर्न सक्दछौ जस्तो पाकिस्तानको राष्ट्रिय झण्डाबाट पाकिस्तान स्लामिक देश, नेपालको राष्ट्रिय झण्डाबाट नेपाल एकल हिन्दु राज्य सत्ताको ठूलो प्रभाव भएको देश र भुटानको राष्ट्रिय झण्डाबाट भूटान एक बुद्धिष्ट राज्य हो भनेर बुझ्न सक्दछौं । मानव सभ्यता, राजनीति र धार्मिक दर्शन बुभ्mन पारिबुङ एक बलियो प्रमाण रहेको यथार्थलाई नियाल्दा किरात सभ्यता र पहिचान संरक्षणको सन्दर्भमा पारिबुङको प्रयोग अति सान्दर्भिक छ । पारिबुङको डिजाइनिङ किरात राई प्राज्ञ सुरज राईले गर्नु भएको छ र पारिबुङको महत्वलाई प्रचार प्रसार गर्ने अभियान थुलुङ राई संस्कृति प्रतिष्ठानको नेतृत्वमा भईरहेको छ।
निष्कर्ष
किरात समुदायको सास्कृतिक सार्वभौमिक र पहिचान स्थापित गर्न विवाह, तोसी, वनभोज, विभिन्न सास्कृतिक कार्यक्रम स्थलहरुमा पारिबुङ टाँग्नु पर्दछ । यसो गरिएमा जोरीपारीको मनोबल घट्ने, अध्यात्मिक सदभावना बढ्न गई आयोजित कार्यक्रम सफल्तापूर्वक सम्पन्न हुनेछ । पारिबुङ रंगिबिरंगी कपडाको टुक्रामात्र नभएर यसले भक्ति, योग, दर्शन तथा इतिहासलाई जिवित राख्दछ । पारिबुङ टाँग्दा यसमा भएको दार्शनिक सन्देशलाई वायु मार्फत विश्व माझ फैलिन्छ भन्ने मान्यता छ । यसर्थ कार्यक्रम स्थलमा पारिबुङ टाँगौ ! पितृ र प्रकृतिको आशिर्वाद लिऔ ! ! कार्यक्रम स्थलको शोभा बढाऔ ! ! ! किराती पहिचानलाई जिवित राखौं –
सन्दर्भ सामग्री सूची
राई, पाँचवीर; अन्य (२०६७)· थुलु–नेपाली – लेम्ल्वाखाजेम· थुलुङ राई सामा ।
राई तारामणि (२०७६). थुलुङ. योगेन्द्र यादव र कर्णाखर खतिवडा (सं.) मातृभाषाको रुपरेखा. नेपाल प्रज्ञा प्रतिष्ठान ।
मुकारुङ राई, दिलेन्द्र (२०८०)· किरात राई सुप्तुलुङ र मुन्दुमी जिवन दर्शन· किरात राई प्रज्ञा परिषद, ३(१) ।
राई, सुकराज; खम्बु राई, खुक्सङ र थुलुङ राई, जसिहव (२०७७)· थुलुङ मुन्दुम· बम थुलुङ स्मृति फाउन्डेसन ।
राई, निर्कुधन, (२०८० बैशाख–आसार). पाबिुङ अर्थात किराती तोरन. इक लिब्जु/भुम्जु त्रैमासिक, वर्ष १०, अंक १, पुर्णाङक २० लिब्जु–भुम्जुको ९३औ श्रृंखला. पृ. २२–२४ । राई, निर्कुधन, (२०८० असोज). सितिमी मासिक. पृ.२८ । राई निर्कुधन, (२०८१ चेत्र. किरात यले संवत् ५०८५). किरात राई प्रज्ञा जर्नल, वर्ष ४, अंक ४, पृ.२० –२७ ।
Sharma Sneh, (2014). A multidisciplinary bi-annual e-journal. Sopan.
Rana R. L. Poonam, (2019). Symbolism behind art and colour denoted on the
buddhist prayer flags. A journal on arts and art education.
https://www.onindianpath.com/dhwaja-in-hinduism/www.sancharkarmi.com
स्रोत व्यक्ति
सुरज राई, (२०४३ –०२ –२१) सिक्किम, भारत (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
खुक्सङ खम्बु राई (२०३८–०७–२५) खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिका – ५ रिब्दुङ (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
मदन राई (२०४६–०९–०७) सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ४ जुबु (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
बिनेश राई (२०४३–०७–०३) सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ९ लोखिम (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
तिलक चाम्लिङ राई (२०३७–०७–०५) खोटाङ जिल्ला, हलेसी तुवाचुङ नगरपालिका – ५ (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
चन्द्रकला राई (वर्ष ४८) सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ६ मुलिदेल (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
सव कुमार राई (२०२४–०६–०८) सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ९ लोखिम (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
सन्त सिर राई (२००१) सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका – ९ लोखिम (२०७१–२०८०सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
मदन राई (२०४१–१२–२०) थुलुङ दुधकोसी गाउँपालिका – ९ लोखिम (२०७१–२०८० सम्म विभिन्नसमयमा गरेको सामुहिक छलफल)
पञ्चमान राई (२०२३–०६–०४) थुलुङ दुधकोसी गाउँपालिका – ९ लोखिम (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)
भिम बहादुर राई (२०२२–०६–२९) थुलुङ दुधकोसी गाउँपालिका – ३ पन्चन (२०७१–२०८० सम्म विभिन्न समयमा गरेको सामुहिक छलफल)