जि. प्र. का. सोलुखुम्बु दर्ता नं. ३३८, समाज कल्याण आबद्धता नं. ३६३६२

Author: Thulung TRCF

पारिबुङ अर्थात् किराती तोरणको समाजशास्त्र र मानवशास्त्र

📝 निर्कु धन राई

पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा/कागजको झण्डा वा तोरन/तोरण भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुला आकाश), ‘बुङ’ भनेको फूल (बुङ = फूल) अर्थात सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमा झुण्डाईएकको फूल भन्ने अर्थ लाग्दछ तर किरात समुदायभित्र पारिबुङको अर्थ यतिमामात्र सिमित छैन । पारिबुङको अर्थ र यसको महत्व निम्न अनुसार रहेको पाइन्छ ।  

पारिबुङमा तीनवटा रंगको प्रयोग भएका हुन्छ । पहेँलो र हरियो रंगको पृष्ठभूमिमा ६ वटा किरात राई साँस्कृतिक बिम्बहरू सेतो रंगमा छापिएका हुन्छन् । ती तीन वटा रंगहरुको अर्थ यस प्रकार रहेको छ।

  • सेतोको अर्थ सह-अस्तित्व र शान्ति

  • हरियोको अर्थ उभौली र पितृ पुजक

  •  पहेलोको अर्थ उधौली र प्रकृति पुजक

पारिबुङमा राख्नु पर्ने ६ वटा किरात साँस्कृतिक बिम्बहरु तल लेखिए बमोजिम रहनेछन्।

  • पहेँलो पृष्ठभूमिमा सेतो धनुकाँडको बिम्ब

  • हरियो पृष्ठभूमिमा सेतो तीनचुलाको बिम्ब

  • पहेँलो पृष्ठभूमिमा सेतो चिन्डोको बिम्ब

  • हरियो पृष्ठभूमिमा सेतो सिलाम साक्माको बिम्ब

  • पहेँलो पृष्ठभूमिमा सेतो ढोलको बिम्ब

  • हरियो पृष्ठभूमिमा सेतो झ्याम्टाको बिम्ब

तल चित्रमा देखाईए बमोजिम पारिबुङको क्रम रहने छ ।

नोट: पारिबुङलाई अवश्यकता अनुसारको साईजमा बनाउन सकिएता पनि यसको आकार आयताकार हुनेछ ।   

पारिबुङलाई सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा निम्न २ महत्वपूर्ण अर्थले टाँगिने गरिन्छ;१. सफल र सुरक्षित कार्यक्रमको लागि२. कार्यक्रम स्थल सजावटको लागि  
 पारिबुङलाई के गर्नु हुन्न?

  • खुट्टाले टेक्नु वा नाघ्नु हुँदैन।

  • माटो वा फोहरमा फ्याँक्नु हुँदैन।

  • होसियारी पूर्वक पारिबुङलाई टाँग्ने र उठाउने कार्य गर्नु पर्दछ।

किरात ड्युम्ला (मुन्दुम / मिथक)  अनुसार उननेम तयानेम (उहिले-उहिले) मियाप्मा (पृथ्वी) र खोम्दा (शुक्र तारा) को समागमबाट पृथ्वीमा हावा, पानी, वनस्पति तथा सम्पूर्ण प्राणीको उत्पति भयो । मियाप्मा र खोम्दाका विवेकशील सन्तानको रूपमा मिनिहव/मिनिहाङ (मानिस) को जन्म भयो । मिनिहव जन्मदा हातमा लिङह्वाल (धनुकाँड), शिरमा सेवारी (श्रीपेज), सिदिमो (काँधमा दुवैतर्फ भिर्ने मुन्दुमी सानो झोला) सहित धर्तीमा पाईला टेके । मिथक अनुसार मिनिहव दैवीशक्ति प्राप्त भएकाले उनी सम्पूर्ण प्राणीहरू मध्ये सबैभन्दा शक्तिशाली, चेतनशील, विवेकशील भए / थिए।  

मिथक अनुसार खोम्दा र मियाप्माको पहिलो सन्तान हावापानी, दोस्रो वनस्पति तेस्रो बाघ चौथो भालु पाँचौं बाँदर छैटौं मिनिहाङ हुन । मिनिहाङको जन्मे सकेपछि बाँकी सम्पूर्ण जिवहरुको जन्मको जन्म भयो । यसरी जन्मे पछि सबै आ-आफ्नो बाटो लागे तर भालु र मिनिहाङ मियाप्मासंग संगै बस्ने थाले । मियाप्मा भनेको पृथ्वी भए पनि आमाको भूमिका पुरा गर्न उनी मानवीय स्वरुपमा नै प्रकट भएका थिए रे ! यसरी संगै बस्दा मिनिहाङ सधैं खाना खोज्न जंगल जान्थे तर भालु चाहिँ अल्छि भएकोले घरैमा आमा मियाप्मासंग बसेर मिनिहवको बाटो कुरेर बस्दथे । एक दिन मिनिहव जंगलबाट अलि ढिलो फर्केछ । मिनिहवले खानेकुरा ल्याउन ढिलो गरेको कारण भालुलाई बेसरी भोक लागेछ अनि उसले घरमा खानेकुरा यताउती खोज्यो तर केही भेटाएन त्यस पछि भोकाएको भालुले आमालाई नै खाने निणर्य गरेछ । तत्पश्चात जुम्रा मारिदिने बहानामा भालुले उनको आमालाई काखमा सुत्न भने अनि जब भालुले आमाको कपाल सुमसुम्याउन थाले, मियाप्मा लुटुक्क/लुसुक्क निदाएछिन् यहि मौकामा भालुले आफ्नै आमालाई खाएर भोक मेटाएछ ।   

केहि समय पछि मिनिहव सबैका (मियाप्मा, भालु र मिनिहव) लागि खाना लिएर बासस्थानमा आईपुग्दा उनले भालुको मुखमा रगत र दाँतमा आमाको कपाल टाँसिएको देखे । मिनिहवले आमालाई यताउता हेरे तर कतै देखेनन् अनि आमा खै ? भनेर भालुलाई सोध्दा थाहा छैन भन्ने उत्तर आयो । अन्तमा भालुले आमालाई खाएछ भन्ने यकिन भएपछि घरमा राखेको ड्युम्लुङ (सिलौटा) ले भालुको टाउको चेप्टो हुने गरि मिनिहाङले पिटेर जंगलतर्फ खेदेछ ।   

जब मिनिहाङ एक्लो भए तब सृष्ट्रि भएका सबैको कल्याणको लागि उनले मियाप्मा र खोम्दालाई पितृ शक्ति र प्रकुतिका सम्पूर्ण प्राकृतिक तत्वहरूलाई प्राकृतिक शक्तिको रुपमा पुज्न थाले । यसरी किरात समुदायको आदिम पुर्खा मिनिहाङले शुरु गरेका पितृ र प्रकृति पुजालाई किरात समुदायका आदिम मानव ख्वाक्चिलिप (रैछाकुले) जाउ ख्लिउ (तयामा खियामा) ले अझ विशेष किसिमले मान्न थाले । उनीहरुले पवित्र स्थान तीन चुलाको प्रतिस्थपना गरे अनि चिन्डो, अर्नाको सिङ, कटुसको स्याउला, तीतेपाती आदिलाई पवित्र सामग्री मानेर पितृ र प्रकृतिको पुजालाई धुमधामसंग मान्न थाले ।   

किरात मिथक अनुसार मानव जंगली युगबाट कृषि युगमा  ख्वाक्चिलिप, वायलुङमा, जाउ ख्लिउले प्रवेश गराएका थिए ।  विकास क्रमसँगै मानवले जब धातु पत्ता लगाए तब मानिसहरुले म्युरुयुम्बी तरबार) ढोल, झ्याम्टा पनि बनाए । त्यसपछि किरात समुदायमा ढोल, झ्याम्टा, म्युरुम्बीलाई पनि पवित्र सामग्रीको रुपमा पुज्न थाले । यसरी मिनिहवले शुरु गरेका पुजा वा प्रार्थनाको निरन्तरता नै आजको किरात ड्युम्ला (मुन्दुम) हो ।  मिथक अनुसार किरात बिम्बको अर्थ निम्न लिखित रहेका छन्।

  • लिङह्वाल (धनुकाँड) : शक्तिको प्रतिक ।

  • चिन्डो : पितृ र प्रकृतिलाई पानी अर्पण गर्ने मुन्दुमी सामग्री ।

  • तीनचुलो : पितृको बास स्थान / पवित्र स्थान / खाना पकाउने स्थान ।

  • ढोल, अर्नाको सिङ, झ्याम्टा : पित्री र प्रकृतिको सम्मानमा बजाइने बाजा तथा आदिम सञ्चार सामग्री ।

  • सिलाम सक्मा : मृत्युको बाटो छेक्न प्रयोग गरिने साँस्कृतिक बिम्बम्युरुम्बी /तरबार : नकारात्मक तत्व वा नकारात्मक उर्जालाई टाढा राख्न प्रयोग गरिने हतियार ।

किरात देवा (पुजारी) नोक्छो (धामी) तथा मुन्दुमविद्हरूका अनुसार कुनै पनि शुभकार्यमा धनुकाँड, तीनचुला, चिन्डो, सिलाम सक्मा, ढोल, झ्याम्टासहितको पारिबुङ टाँगिएमा नाछ्युर (डाह/इर्ष्या) नलाग्ने, जोरीपारीको मनोबल घट्ने हुन्छ । तसर्थ केही वर्षदेखि किरात समुदायले पारिबुङको प्रयोग तोसी (साकेला), विवाह, वनभोज तथा विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रयोग गर्दै आएका छन् ।

अन्तमा, कार्यक्रम स्थलमा पारिबुङ टाँगौं  ! पितृ र प्रकृतिको आशिर्वाद लिऔं ! ! कार्यक्रम स्थलको शोभा बढाऔं ! ! ! किराती पहिचानलाई निरन्तरता दिऔं …  यस पारिबुङको डिजाइनिङ किरात राई प्राज्ञ सुरज राईले गरेका हुन् भने पारिबुङको महत्वलाई प्रचार प्रसार गर्ने अभियान थुलुङ राई संस्कृति प्रतिष्ठानले गरिरहेको छ ।